Veröffentlicht 1 Woche vor
137.76K followern
2.7K views
82 likes
0 comments
1 shares
प्रहरी बढुवामा चाप : २६ डीएसपी पदका लागि १२८ इन्स्पेक्टर प्रतिस्पर्धामा................... काठमाडौं । नेपाल प्रहरीमा रिक्त रहेको डीएसपी पदमा बढुवाको प्रक्रिया दरबन्दीभन्दा योग्य उम्मेदवारको संख्या धेरै भएपछि जटिल बनेको छ। हाल २६ डीएसपी पद रिक्त रहे पनि बढुवाका लागि १२८ जना इन्स्पेक्टर योग्य देखिएपछि प्रतिस्पर्धा पेचिलो बनेको हो। बढुवाका लागि योग्यमध्ये अधिकांश २०७२ सालमा खुला प्रतिस्पर्धाबाट प्रहरी निरीक्षकमा प्रवेश गरेका १२४ जना छन्। यसबाहेक पुराना ब्याचका चार जना इन्स्पेक्टर पनि बढुवा प्रतिस्पर्धामा छन्। पुरानो ब्याचबाट २०५४ सालमा असईमा भर्ना भएर इन्स्पेक्टर भएका प्रवीण जोशी (ज्ञवाली), गौतम बोहोरा र धर्मराज मुडबरी तथा २०६४ सालमा खुला प्रतिस्पर्धाबाट इन्स्पेक्टरमा प्रवेश गरेपछि बढुवामा छुट्दै आएका चन्द्रबहादुर थापा प्रतिस्पर्धामा रहेको विवरण छ। एक वर्षदेखि बढुवा रोकिएको दाबी योग्य उम्मेदवारको तुलनामा डीएसपीको रिक्त दरबन्दी निकै कम रहेकाले बढुवा प्रक्रिया करिब एक वर्षदेखि प्रभावित भएको बताइएको छ। सीमित पदमा ठूलो संख्यामा उम्मेदवार प्रतिस्पर्धामा रहेपछि प्रहरी नेतृत्वसमक्ष बढुवा व्यवस्थापन चुनौती बनेको छ। प्रहरी प्रधान कार्यालयले भने माथिल्लो तहका अधिकृतहरूको अवकाशपछि थप हुने रिक्त पदलाई समेत समेटेर बढुवा प्रक्रिया अघि बढाउने तयारी गरेको स्रोतको दाबी छ। आउँदो पुसमा उच्च तहका केही प्रहरी अधिकृत अवकाशमा जाने भएकाले त्यसपछि डीएसपीको रिक्त संख्या बढ्ने अनुमान गरिएको छ। माथिल्लो तहमा रिक्त हुने पद पूर्ति गर्दा डीएसपीबाट एसपीमा समेत बढुवा हुने र त्यसपछि डीएसपीका थप पद खाली हुने भएकाले रिक्त दरबन्दी करिब ४० को हाराहारीमा पुग्न सक्ने अनुमान गरिएको छ। पुसमा उच्च अधिकृतहरू अवकाशमा जाँदै २०५३/०९/०५ को भर्ना मिति भएका एआईजीहरू सिद्धीविक्रम शाह, सुशीलसिंह राठौर, हिमालयकुमार श्रेष्ठ, डम्बरबहादुर विक र उमाप्रसाद चतुर्वेदी पुस ५ गते अवकाश हुने जनाइएको छ। त्यसैगरी डीआईजीहरू ओमबहादुर राना, सुरेन्द्रबहादुर गुरुङ, माधवप्रसाद श्रेष्ठ र दिलीपसिंह देउवा पनि सोही मितिमा अवकाश हुनेछन्। डीआईजी विनोद घिमिरे भने उमेरहदका कारण त्यसअघि नै अवकाशमा जानेछन्। एसएसपी शारदाप्रसाद चौधरी पनि ५५ वर्षे उमेरहदका कारण आगामी भदौ ९ गते अवकाश हुने बताइएको छ। वृत्ति विकासमा असर परेको अधिकृतहरूको गुनासो बढुवा प्रक्रिया लामो समयसम्म रोकिँदा प्रहरी निरीक्षकहरूको वृत्ति विकासमा असर परेको सम्बन्धित अधिकृतहरूको गुनासो छ। सामान्यतः एक दर्जामा प्रवेश गरेको कर्मचारीले निश्चित अवधिभित्र माथिल्लो दर्जामा बढुवा पाउने अपेक्षा हुने भए पनि २०७२ सालका इन्स्पेक्टरहरूले डीएसपी बन्न १२ देखि १५ वर्षसम्म कुर्नुपर्ने अवस्था देखिएको उनीहरूको भनाइ छ। बढुवा ढिलो हुँदा उमेरहदका कारण कतिपय अधिकृतले एसपी वा एसएसपीकै दर्जाबाट अवकाश लिनुपर्ने जोखिमसमेत बढेको उनीहरूको गुनासो छ। प्रहरी संगठनमा नियमित र समयमै बढुवा हुन नसक्दा अधिकृतहरूको मनोबल, कार्यसम्पादन र दीर्घकालीन करियर व्यवस्थापनमा असर पर्न सक्ने भन्दै समस्या समाधानका लागि रिक्त दरबन्दी र बढुवा प्रक्रियालाई व्यवस्थित गर्नुपर्ने आवाज उठेको छ। #AMGTimes #NepalPolice #PolicePromotion #DSP #PoliceInspector